संसदीय दलको नेता चयनका विषयमा छलफल भइरहेको छ: उपसभापति गुरुङ

 पुष ०२, २०७

बुटवल, २ पुस । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा पार्टीमा छलफल भइरहेको बताउनुभएको छ ।

दलको नेता बन्नका लागि नेताहरूबीच प्रतिस्पर्धा भइरहे पनि कसलाई बनाउने भन्ने विषयमा अझै टुङ्गो नलागेको उहाँको भनाइ छ ।

Public Patra Insert into Post

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ (काउन) को चौथो राष्ट्रिय महाधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै उहाँले संसदीय दलको नेतामा व्यक्तिभन्दा पनि एजेण्डालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

“प्रधानमन्त्री दाबी गर्न जति सजिलो छ, प्रधानमन्त्री बनेर काम गर्न त्यति सजिलो छैन”, उहाँले भन्नुभयो, “एजेण्डा बोकेपछि गन्तव्यमा अवश्य पुगिन्छ ।”

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका गुरुङले प्रधानमन्त्रीका लागि दाबी गरिरहेका नेताहरु आफ्नो सम्पत्ति छानविन गर्न तयार हुन आग्रह समेत गर्नुभयो ।

काउनको राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्यले नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रमिकहरुको महत्त्वपूर्ण योगदान रहे पनि सत्तामा पुगेपछी श्रमिकको बेवास्ता भएको आरोप लगाउनु हुँदै ट्रेड युनियन आन्दोलनलाई थप सशक्त बनाउनुपर्ने बताउनुभयो । पूर्वअध्यक्ष लक्ष्मण बहादुर बस्नेत , खिलानाथ दाहालले अनौपचारिक क्षेत्रका श्रमिकको समस्या समाधान गर्न सामाजिक सुरक्षा लागू हुनुपर्ने बताउनुभयो ।

ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्रजंग कार्की , अजय राई, महासचिव योगेन्द्र कुँवर, उपमहासचिव गणेश के.सि. र केन्द्रिय सदस्य ध्रुवचन्द्र गौतम लगायतले श्रमजीवी वर्ग हरेक हिसाबले पीडित रहेको बताउनु हुँदै श्रमजीवीको मुद्दामा राज्य गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

आइतबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । कुल ६३ जिल्लामा सङ्गठन रहेको काउनको यो महाधिवेशनमा प्रतिनिधि पर्यवेक्षक गरी तीन सय ५० बढी सहभागी रहेको काउनका केन्द्रीय अध्यक्ष जवि गुरुङले जानकारी गराउनुभयो ।

उहाँले अहिले समग्र श्रम आन्दोलन जटिल अवस्थामा रहेको बताउँदै समान काम समान ज्यालालगायतका मुद्दा पेचिलो बन्दै गएको बताउँदै कार्यान्वयनमा जोड दिनुभयो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2