प्रतिनिधिसभामा सिङ्गो पार्टी एकताबद्ध भएर सशक्त भूमिका निर्वाह गर्ने कांग्रेसको निर्णय

 पुष २३, २०७

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्मा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले त्यसका लागि तयारी गर्न सांसदहरूलाई निर्देशन दिएको पार्टीका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए। “सिङ्गो पार्टी एकताबद्ध र एक ढिक्का भएर प्रतिनिधिसभामा सशक्त भूमिका निर्वाह गर्ने निर्णय भएको छ”, उनले भने।

Public Patra Insert into Post

बैठकले नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो दलका रूपमा प्रतिनिधिसभामा विजयी गराएका मतदाताप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ। बैठकले पार्टीका नेता तथा कार्यकर्ताले दललाई हालको भूमिकामा पुर्‍याउन योगदान दिएकामा पनि धन्यवाद दिएको छ।

बैठकले संविधानसभा सदस्य तथा पूर्व सांसद झुलबहादुर आले र मैयादेवी श्रेष्ठप्रति शोक प्रस्ताव पारित गरेको छ। काँग्रेसले प्रतिनिधिसभाको बैठक प्रारम्भ हुनुभन्दा पहिला केही महत्त्वपूर्ण जानकारी नवनिर्वाचित सांसदलाई  दिनका लागि बैठक आयोजना गरेको हो। यही पुस २५ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ।

पुस २६ गते प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुहुनेछ। त्यसको प्रक्रिया के हुन्छ र कसरी हुन्छ भन्नेबारेमा काँग्रेसले आफ्ना सांसदहरूलाई जानकारी गराएको हो। सङ्घीय संसद्मा काँग्रेसले निर्वाह गर्ने भूमिका र त्यसका लागि गर्नुपर्ने तयारीका बारेमा समेत बैठकमा जानकारी गराइएको मुख्य सचेतक लेखकले बताए।

संसदीय दलको अर्को बैठक यही पुस २६ गते संसद् भवन बानेश्वरको ल्होत्से हलमा बस्नेछ। “विश्वासको मतको प्रस्तावका बारेमा त्यही बैठकबाट निर्णय हुनेछ”, मुख्य सचेतक लेखकले भने, “हामी कुनै नयाँ गठबन्धन बनाउने र अहिलेको भत्काउने कामका लागेका छैनौँ।”

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2