पढाई र डिप्रेसन

 पुष २४, २०७

शान्ता नेपाल

व्यक्तिले शारीरिक, मानसिक तथा व्यवहारिक कारण आफ्नो जीवन आफैद्वारा समाप्त गर्ने प्रक्रीयालाई आत्महत्या भनिन्छ। आत्महत्या’ आत्म र हत्या शब्द मिलेर बनेको शब्द हो जसमा आत्माको अर्थ आफैं र हत्याको अर्थ खतम वा नष्ट गर्नु हुन्छ।

Public Patra Insert into Post

विश्वमा प्रत्येक वर्ष करिब साथ लाख जनसङ्ख्याले आत्महत्याद्वारा आफ्नो जीवन समाप्त गर्ने गरेको पाइएको छ। विश्व स्वास्थ्य संगठनको अनुसार, मृत्युका विविध कारणहरु मध्य आत्महत्या चौथो श्रेणिमा पर्दछ ।  आत्महत्याका विभिन्न कारणहरु मध्ये मानसिक चिन्ता मुख्य हो । साथै शारीरिक शोषण, पारिवारिक, व्यबहारिक, सामाजिक परिबेश मानसिक हलचल आदि पनि यसका कारण हुन्।

इतिहासका विभिन्न कारणहरु पछि अहिले नवीन युग एक्काइसौं शताब्दीमा युवा जमातमा थप अर्को कारण थपिएको छ ‘पढाइ’ । बढ्दै गएको आधुनिकिकरण सँगै बुझाई, पढाइ अनि जिम्मेवारी पनि फेरिएको छ । नेपालका जुनसुकै कुनामा जन्मिदै आफ्नो क्षमता बाहिरको जिम्मेवारी अनि किताबका खातले पुरिएका हुन्छन् बालबालिकाहरु । यसको प्रमुख कारण कमजोर शिक्षा प्रणाली र कोरा किताबी ज्ञानको प्रोत्साहन  हुन्।

जन्मिएर केही नयाँ सिक्न भनी गएका विद्यार्थीहरुका दिमाग रचनात्मकबाट किताब रटनात्मक तर्फ रुपान्तरण हुन थालेको छ । कक्षा बढ्दै जादा विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जगाइएको हुन्छ जसले उनिहरुमा जसरी हुन्छ जित्छु भन्ने मूर्ख बुद्दीको विकास गराउँछ । कुनै विद्यार्थी एक कक्षामा प्रथम भयो भने उस्लाई अब दुई, तीन गर्दै माथिल्लो कक्षासम्म प्रथम नै हुनैपर्छ भन्ने वाक्य रटाईएको हुन्छ । यदि उस्ले दोश्रो अथवा कम श्रेणी ल्याए इज्जत जाने, प्रतिस्पर्धामा अरुभन्दा कमजोर देखिइने, आफ्ना परिवार साथिभाईबाट कम माया पाइने जस्ता अनेकौं नकारात्मक डर देखाइएको हुन्छ ।

जसका कारण उक्त विद्यार्थीले सुकर्मबाट नभए कुकर्म गरेर पनि उत्कृष्ट नम्बर प्राप्त गर्न प्रयासरत हुन्छ । विद्यार्थीले सहकार्य, सहयोग गर्दै नयाँ नयाँ कुराहरु जानौं भन्ने जान्दैन, मात्र जान्दछ अरुलाई पछि पारेर आफू अगाडि हुन । विभिन्न त्रासयुक्त वाक्यहरु सुनेर आफुलाई बलियो नै कायम राख्न खोज्दा खोज्दै कुनै बेलामा खस्कियो भने उस्लाई अब उहि वाक्यहरु बारम्बार दिमागमा आउँछ । र, विद्यार्थीले त्यही अनुभूति गर्दछ पनि जसले गर्दा उस्लाई आफ्नो मानहानी भएको, स्तर इज्जत घटेको जस्तो अनुभव हुनथाल्छ । उसलाई अब घरमा समाजमा स्कुलमा सबैसँग कसरी देखिइने भन्ने डर जाग्न थाल्छ । जसका कारण यी सबै सम्भाव्य डरहरुबाट भाग्न विद्यार्थीले जे जस्तो सुकै कदम पनि चाल्न सक्छन् । जस्तै: घर छोडेर हिड्ने, विद्यालय नजाने, भाग्ने, आत्महत्या प्रयास गर्ने आदि ।

यसरी पढ्दै, शिक्षा लिदै हुर्केको बालबालिकाको अर्को चिन्ताको विषय भनेको दश कक्षा पछिको पढाई  हो । एस.इ.इ सम्म आफ्नो स्तर मुल्यांकन गरेर एघारमा विषय छान्दा हुने त्रुटिले पनि फरक नतिजा ल्याउन सक्छ । अलि राम्रै नम्बर ल्याएका विद्यार्थीहरुले विज्ञान संकाय छान्छन् । कक्षा दशसम्मको उत्कृष्ट पढाइले एघारमा सबैले राम्रै गर्न सकिन्छ भन्नू पनि मुर्खता हुनपुग्छ । त्यसो त कतिपय विद्यार्थीले दशसम्म कमजोर भएरपनी ११/१२ मा राम्रो नतिजा हात नपारेका भने होइनन् । यसरी आफ्नो माध्यमिक तह सम्मको स्तर पछि उच्च माध्यमिक तहमा खस्कियो भने विद्यार्थी पुन: चिन्तित हुनपुग्छ । जसले विद्यार्थीमा आफुप्रतिको धारणा, आफ्नो पढाइ, सिकाईमा शङ्का उत्पन्न हुनथाल्दछ र फेरि उही चिन्ताले सताउँछ ।

१२ पछिको पढाईमा कुन छान्ने भन्ने पनि अर्को फरक चिन्ता हो।  बढ्दै गएको उमेर अनि जिम्मेवारी संगैको स्नातक स्तरको पढाईलाई एकत्रीत भएर लागिरहन मध्यम वर्गिय परिवारलाई गाह्रो हुन्छ । स्नातक पढिसकेपछी बेरोजगार हुने, आफ्नो पढाईको काम नलाग्ने हुदा थप अर्को समस्या थपिएको अनुभूति कतिपय विद्यार्थीले गर्न सक्छन् । जसले पनि विद्यार्थिमा चिन्ता, डिप्रेसन हुनथाल्छ । स्नातकोत्तर सकिइदा बिहे, रोजगारी, जिम्मेवारीले थिच्न पुग्छ । आफ्नो नेपालको विद्यावारिधि बाहेकको सम्पुर्ण पढाइ सकिइदा पनि यी सबै पूरा नहुदा मानिसमा थप सपना टुक्रीएको, सोचेजस्तो नभएको अनुभूति हुन्छ । विद्यार्थिहरु कुनै विषयमा स्नातकोत्तर सकिएपछी पनि अन्य कामको विकल्प खोज्नुपर्दा निराशावादी हुन थाल्छन् ।

हातमा डिग्री बोकेर विरक्तिएका अनुहार आजभोलि प्रशस्त भेटिन्छन् । प्रत्येक पुस्ताको पढाईमा चिन्ता पिरको संगालो हुनुको प्रमुख कारण प्रयोगात्मक शिक्षाको कमि, बेरोजगार मुलक पढाई, कमजोर शिक्षा नीति आदि हुन्। यी सबै समस्याहरुद्वारा नेपालका प्रत्येक विद्यार्थीहरुमा नयाँ ज्ञान नभएर नयाँ समस्या, नयाँ चिन्ता, डिप्रेसन, नयाँ बोझ थपिएको छ ।

जसले प्रचुर मात्रामा हरेक पुस्ताका विद्यार्थिहरुले आत्महत्याका प्रयास गर्ने गरेका छन् । त्यसैले सबै समस्याहरुलाई पहिचान गरेर सरकारले अबको नयाँ पुस्तामा उचित ज्ञान, प्रयोगात्मक, रोजगारिमुलक सिकाई, चनाखो दिमाग, प्रसन्न विद्यार्थी बनाउन प्रयास गर्नुपर्दछ। यसो गरे भावि पुस्ताले नेपालमै सम्भावना, ज्ञानका मुहानहरु भेट्नेछन् । अनि मात्र बदलिनेछ दुखी विद्यार्थी र कष्टदायी देशको मुहार । अनि बन्नेछ सुखी, शिक्षित युवाहरुद्वारा विकसित देश नेपाल ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2