सरकारमा बिचौलियाको हावी- अध्यक्ष आचार्य

 माघ २८, २०७

काठमाडौ , २८ । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले सरकारमा बिचौलियाहरुको हावी रहेको आरोप लगाउनु भएको छ । नेपाल गार्मेन्ट मजदुर संघको सातौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्नुहुँदै यस्तो आरोप लगाउनु भएको हो ।

अध्यक्ष आचार्यले गार्मेन्ट मजदुरहरु अझै पनि श्रम ऎनको दायरा भन्दा बाहिर रहेको उल्लेख गर्नुहुँदै सरकारले श्रमजीवी वर्गको कहिल्यै मुद्दा नउठाएको जिकिर गर्नुभयो । उहाँले बढ्दो बेरोजगारी न्यूनीकरण गर्न रोजगारी वृद्धि गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।

Public Patra Insert into Post

ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले श्रमिकको न्युनतम पारिश्रमिक पच्चीस हजार हुनुपर्ने बताउनुभयो । बढ्दो महँगी, कोभिडका कारण आर्थिक अवस्था नाजुक भएकोले अहिलेको न्युनतम पारिश्रमिकले श्रमिकको चुलो बल्न नसक्ने ठोकुवा गर्नुभयो । वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रसाद यादवले श्रमिक अधिकारकालागी ट्रेड युनियन आन्दोलनलाई अझ मजबुत गर्नुपर्ने बताउनुभयो ।

उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले ट्रेड युनियन कांग्रेसको संघर्षले औपचारिक तथा अनौपचारिक दुवै क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा लागु भएको र त्यसको प्रभावकारी कार्यान्वयनकालागी ट्रेड युनियनले विशेष भुमिका खेल्नुपर्ने बताउनुभयो । उपाध्यक्ष ललित श्रेष्ठले श्रम ऎनको कतिपय दफाले श्रमिक प्रताडित रहेकोले संशोधन हुनुपर्ने बताउनुभयो ।

महासचिव योगेन्द्र कुँवरले अबको युनियन प्रशिक्षित र सशक्त हुने बताउनुभयो । ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य बलदेव तामाङले नेपाली श्रमिकहरुको अवस्था ज्यादै नै दयनीय रहेको उल्लेख गर्नुहुदै श्रमिकको मुद्दामा सशक्त अभियान थाल्न ढिला गर्न नहुने बताउनुभयो । जनता पेट्रोल छर्केर आत्मदाह गर्न बाध्य हुँदा समेत राज्य संवेदनशिल नबनेकोले ट्रेड युनियन कांग्रेस शान्त बस्न नहुने विचार राख्नुभयो ।

संघका केन्द्रीय अध्यक्ष विष्णुदेव यादवले हक अधिकार प्राप्त गर्न श्रमिक नै जागरुक हुनुपर्ने बताउनुभयो । कार्यक्रममा ट्रेड युनियन कांग्रेस बागमती प्रदेश सचिव राजेश हुमागाई, काठमाडौ जिल्ला अध्यक्ष देवि भुषाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अध्यक्षमा पुनः यादव

नेपाल गार्मेन्ट मजदुर संघको सातौं राष्ट्रिय अधिवेशनले विष्णुदेव प्रसाद यादवलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको छ । यसैगरी शनिबार सम्पन्न सातौं राष्ट्रिय अधिवेशनले सह अध्यक्ष विष्णुमाया उप्रेती , इन्द्रराज कडेल, गोवर्द्दन खड्का, वरिष्ठ उपाध्यक्ष पुण्यशाखा लामा ( पुष्कर ) , उपाध्यक्ष मातृका प्रसाद राय, महिला उपाध्यक्ष सुकरती चन्द चयन गरेका छन् ।

यसैगरी आगामी चारवर्षे कार्यकालकोलागी महासचिव विष्णु कुमार घिसिङ , उपमहासचिव उदय बहादुर लामा, कोषाध्यक्ष टंकमाया श्रेष्ठ लगायत पन्ध्र सदस्यीय कार्यसमिति चयन गरेका छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2