समयमै फर्कने स्वघोषणा गरेर मात्रै भिजिट भिसामा विदेश जान सरकारको आग्रह

 माघ ०, २०८०

 ९ माघ काठमाडौँ ।अध्यागमन विभागले भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपालीहरूका लागि यात्रा परामर्श सम्बन्धी सूचना निकालेको छ।

भिजिट तथा पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी भएको विभागले जनाएको छ।

Public Patra Insert into Post

‘भिजिट तथा पर्यटक भिसामा गएर कामको खोजी गर्दा सम्बन्धित देशको कानूनअनुसार कारबाहीमा परिने र विभिन्न समस्या भोग्नुपर्ने हुन्छ। तसर्थ भिजिट भिसामा जाँदै हुनुहुन्छ भने आफन्त भेट्ने र घुम्ने लगायत काम गर्नुहोस्,’ सूचनामा भनिएको छ।

भिजिट भिसाको सदुपयोग गर्दै अवधिभित्रै स्वदेश फर्कन विभागले आग्रह गरेको छ।

भिजिट भिसामा जाने यात्रुहरूले नक्कली कागजात पेश गर्ने, झुट्टा विवरण तयार गर्ने, भिसाको उद्देश्य विपरित एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकहरूसम्म पुगी अलपत्र पर्ने, सैनिक सेवामा प्रवेश गर्ने जस्ता समस्या देखिएको पनि विभागले जनाएको छ। यसबाट सिर्जना भएको समस्यामा व्यक्ति आफैं जिम्मेवार हुनुपर्ने हुँदा आफूलाई पूर्ण रुपमा सुरक्षित राख्न तथा थप सजगता अपनाउन आग्रह गरिएको छ।

कुवेत, ओमन, संयुक्त अरब इमिरेट्स र बहराईन जस्ता श्रम गन्तव्य मुलुकहररूमा  बिचौलियाहरूको प्रभावमा महिलाहरूलाई भिजिट वा पर्यटक भिसामा लगेर वर्किङ भिसामा परिणत गराउने र प्रलोभनमा पारी बढी रकम असुल गरी ठग्ने पाइएको विभागको भनाइ छ।

रोजगारदातासँगको मिलेमतोमा असुरक्षित र अमर्यादित श्रम कार्यमा संलग्न गराउन सक्ने, तोकिएको भन्दा अन्य गन्तव्य मुलुकमा पठाउने, असंगठित र घरेलु प्रकृतिका जोखिमयुक्त कार्यमा संलग्न गराउने, सामाजिक सुरक्षाबाट बञ्चित हुनुपर्ने जस्ता जोखिम रहेको विभागले जनाएको छ।  काम गर्ने मनसायले विदेश जाने हो भने वर्किङ भिसामा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर मात्र जान पनि आग्रह गरेको छ।

विभिन्न मुलुकमा भिजिट वा पर्यटक भिसामा गएका केही नेपाली यात्रीहरू उल्लिखित मितिमा नफर्कने गरेको पाइएकोले असामान्य परिस्थिति बाहेक अन्य अवस्थामा तोकिएको समयभित्र स्वदेश फर्कनु पर्ने उल्लेख छ। ‘समयमै स्वदेश फर्कनेछु भनी स्वःघोषणा गरेर मात्र प्रस्थान गर्नुहुन अनुरोध गरिन्छ। विदेश प्रस्थान गर्नुअघि सम्बन्धित देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेर मात्र भ्रमण गर्नु हुन पनि आग्रह गरिन्छ,’ विभाले जारी गरेको सूचनामा भनिएको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2