जापानकी राजकुमारी आइकोले विश्वविद्यालयको पढाइपछि रेडक्रसमा काम गर्ने

 माघ १०, २०८०

१० माघ काठमाडौँ ।जापानका सम्राट् नारुहितोकी एक्ली सन्तान राजकुमारी आइकोले विश्वविद्यालयबाट स्नातक गरेपछि एप्रिल महिनादेखि जापानको रेडक्रस सोसाइटीमा काम सुरु गर्ने भएकी छन्।

नयाँ भूमिकाको विस्तृत विवरण प्रस्ट भइसकेको छैन तर काम गरेका बेला पनि उनले राजपरिवारको औपचारिक भूमिकाहरू भने निर्वाह गरिरहने बताइएको छ।

Public Patra Insert into Post

यी २२ वर्षीया राजकुमारी उत्तराधिकारीको लाइनमा छैनन् किनभने जापानी कानुनले पुरुषलाई मात्रै राजगद्दीमा उत्तराधिकारको अनुमति दिन्छ।

जापानमा संसारकै धेरै वर्ष पुरानो वंश परम्परामा आधारित राजसंस्था छ।

एउटा विज्ञप्तिमा राजकुमारी आइकोले रेडक्रसमा उनको “सदैव नै रुचि रहेको” बताएकी छन्।

उनको रोजगारदाता रेडक्रसले “राजकुमारीले सजिलोसँग काम गरून् भनेर आफूले पूर्ण तयारी गर्ने” जनाएको छ।

जापानमा रेडक्रसको शाही परिवारसँग घनिष्ठ सम्बन्ध छ। पहिलेका साम्राज्ञीहरूले मानार्थ अध्यक्षका रूपमा काम गर्दै आएका छन्।

गत अक्टोबरमा रेडक्रसले आयोजना गरेको सन् १९२३ मा टोक्यो भूकम्पपछिको राहत क्रियाकलापमाथिको एक प्रदर्शनीमा राजकुमारी आइकोले आफ्ना आमाबुबासँग रेडक्रसको भ्रमण गरेकी थिइन्।

पछिल्ला वर्षहरूमा उनले जापानमा प्राकृतिक विपदका पीडित र जीवित रहन सफल मानिसहरूप्रति सहानुभूति व्यक्त गरेकी थिइन्।

अहिले उनी गाकुशुइन विश्वविद्यालयमा द फ्याकल्टी अफ लेटर्स मा जापानी भाषा र साहित्यको पढाइको अन्तिम वर्षमा छिन्।

राजकुमारीहरूलाई जापानको आम वृत्तमा निकै सम्मान दिइन्छ र कैयौँले उनको नयाँ भूमिकाको स्वागत गरेका छन्।

‘करिअर महिला’ आमा

राजकुमारी आइकोकी आमा साम्राज्ञी मासाकोलाई ‘करिअर महिला’का रूपमा चिनिन्छ।

हार्वर्ड र अक्सफर्ड विश्वविद्यालय पढेकी साम्राज्ञी पूर्वकूटनीतिज्ञ हुन् र उनले धेरै भाषा जानेकी छन्।

उनी सन् १९९३ मा जापानी सिंहासनका पहिलो दाबेदारसँग बिहे गर्ने दोस्रो सर्वसाधारण महिला बनेकी थिइन्।

 बिहे भएपछि उनले के पुरुष उत्तराधिकारीलाई जन्म देलिन् त भन्ने अडकलबाजीहरूबारे बहस भएको थियो।

जापानका युवराज नारुहितोकी एक्ली सन्तान राजकुमारी आइको सिंहासनमा बस्न पाउने छैनन् किनभने उनी महिला हुन्।

सन् २००१ मा राजकुमारीको जन्म हुँदा धेरै उत्सव मनाइएको थियो तर उत्तराधिकारको मुद्दा हल हुन सकेन।

  • जापानी सरकारले त्यसबेलै महिलालाई सिंहासनमा चढाउन अनुमति दिने कानुन बदलिएला कि भन्नेबारे बहस सुरु गरेको थियो।

    पाँच वर्षपछि सम्राट् नारुहितोका भाइले एक बालक जन्माए र तिनै राजकुमार हिसाहितोले उत्तराधिकारीको सङ्कट टारे।

    तर तत्कालीन युवराज्ञी मासाकोमाथि दबाब परेको प्रस्ट हुन्थ्यो किनभने उनी एक दशकभन्दा बढी समयदेखि सार्वजनिक कार्यक्रममा अनुपस्थित रहने गरेकी थिइन्।

    सन् २००४ मा त्यस बेलाका युवराज नारुहितोले पत्रकारहरूलाई असामान्य रूपमा कडा प्रतिक्रिया दिँदै उनकी पत्नीले महलको जीवन अपनाउने कोसिसमा आफैँलाई निकै थकाएकी बताएका थिए।

    त्यस बेला दरबारले मासाको “एडजस्टमेन्ट डिसअर्डर”बाट पीडित भएको बतायो जसलाई व्यापक रूपमा मानसिक अवसादको सन्दर्भ ठानिएको थियो।

    टेबलोइड कभरेज

    हालका वर्षमा सिंहासनमाथिका पहिलो अधिकार राख्ने राजकुमार हिसाहितोका परिवारबारे जापानी टेबलोइडले असाध्यै धेरै समाचार छाप्ने गरेको छ।

    उनकी दिदी पूर्वराजकुमारी माकोले आम नागरिक केइ कोमुरोसँग बिहे गरेर शाही परिवार छोडिन् र अमेरिकामा बसिरहेकी छन्।

    कोमुरो र उनकी आमाबीच एक कथित धन विवादको चर्चा पनि चलेको थियो।

    • बिहे गरेर छुट्टाछुट्टै बस्दा श्रीमान् र श्रीमतीको सम्बन्ध राम्रो बन्छ?
    • बिराला र खेलौना रेलले जोगाइदिएको जापानी रेस्टुराँ

    विवादमा आमा र छोराले उक्त ऋण चुकाउन विफल रहेको दाबी गरिएको सन्दर्भले उनीहरूको विवाहलाई खतरामा पारेको ठानिएको थियो।

    किनभने त्यो सन्दर्भले यो जोडीका बारेमा सार्वजनिक धारणा खराब बनेको थियो।

    कोमुरोले न्यूयोर्कमा बारको परीक्षा तेस्रो प्रयत्नमा उत्तीर्ण नगरेसम्म त्यसलाई जापानमा ब्रेकिङ न्यूजका रूपमा छापिएको थियो।

    अकीशिनो परिवारबारे टेबलोइडले समाचारहरू छापिरहँदा स्थानीय मिडियामा अक्सर राजकुमारीहरूबारे तुलना हुने गरेको देखिन्छ।

    राजकुमारी आइकोसँग सन् २०२२ मा उनको काकाका छोरी माकोको सन् २०२२ को बिहेबारे सोधिएको थियो।

    जसबारे उनको जवाफ थियो: “मेरा लागि विवाह अहिले धेरै परको कुरा हो। मैले त्यसबारे सोचेकै छैन। मैले चाहने मान्छे कस्तो भन्नेबारे खासै विचार छैन तर साथसाथ मुस्काउन सक्ने (क्षमता) भएमा भने त्यो ठिक हुनेछ।”

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2