अम्रिसोको मूल्य घटेपछि इलामका किसान समस्यामा

 चैत १३, २०८०

इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत वर्ष तीन लाख ९० हजारको कुचो बिक्री गरे । संयुक्त परिवारमा बस्दै आएका उनको १७ जनाको परिवारलाई घरखर्च चलाउन ठिकै भयो । उनले प्रतिकिलो एक सय ३० का दरले ३० क्विन्टल कुचो बेचे ।  यस वर्ष पनि पोहोर जस्तै कुचोबाट आम्दानी हुने आशाले सङबाङफेले खेतीयोग्य जमिन मासेर अम्रिसो लगाएका थियो तर कुचोको मूल्य घट्यो ।

३० क्विन्टल कुचो बिक्री गर्दा राम्रो भाउ आएन । ‘यतिबेला प्रतिकिलो ६० देखि ६५ मात्र छ, खेताला लगाएको पारिश्रमिक पनि नउठ्ने भएपछि गोदाममा नै थन्क्याएर राखेको छु,’ उनले भने, ‘अलि भाउ आउँछ कि भनेर पर्खेको तर भाउ आएन, यो साल घरखर्च टार्न समस्या हुने भयो ।’

Public Patra Insert into Post

माकाहाङकै अर्का किसान रणबहादुर लिम्बू समस्या पनि उदयको भन्दा फरक छैन । गुजारा चलाउने माध्यम अम्रिसो खेतीलाई बनाएका लिम्बूको परिवार अहिले कसरी घरव्यवहार चलाउने भन्ने चिन्तामा छ । गत वर्ष प्रतिकिलो एक सय २० का दरले १२ क्विन्टल कुचो बेच्नुभएका उनले यस वर्ष प्रतिकिलो ७० ले मात्र कुचो बेचे । कुचोबाट आम्दानी हुने आशाले खेतीयोग्य जमिनमा अम्रिसो रोप्नुभएका उनलाई कुचोले भाउ नपाएपछि चिन्ताले पिरोलेको छ ।

उनीहरू प्रतिनिधि किसान मात्र हुन् । यस वर्ष कुचोले राम्रो मूल्य नपाएपछि उनीहरूजस्ता जिल्लाका प्रायः सबै किसानलाई गुजारा चलाउन समस्या परेको छ । विगतका वर्षमा अम्रिसोबाट उत्पादन हुने कुचोको मूल्य उच्च रहेकाले इलामका अधिकांश किसानले खेतीयोग्य जमिन मासेर अम्रिसो रोपेका थिए तर यस वर्ष कुचोको मूल्य घटेपछि किसानमा निराशा छाएको छ ।

इलामको सबै पालिकाका विभिन्न ठाउँमा मुख्यरुपमा अम्रिसो खेती हुने गर्दछ । अम्रिसोको कुचो स्थानीय बजारमार्फत झापाको धुलाबारीमा सङ्कलन भएपछि काँकटभिट्टा हुँर्दै भारत निकासी हुने गरेको छ । जिल्लामा वार्षिक तीन हजार पाँच सय मेट्रिक टन अम्रिसो उत्पादन हुने तथ्याङ्क छ । कुचो उत्पादन हुने क्षेत्र थपिँदै गएकाले उत्पादनमा समेत वृद्धि हुने व्यापारीको अनुमान छ । घर, कोठा सफा गर्नका लागि कुचो बनाउनदेखि विदेश निर्यात हुँदै आएको छ । रासस

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2