भर्ना अभियान आजदेखि सुरू, ७७ वटै जिल्लामा पुगे पाठ्यपुस्तक

 बैशाख ०२, २०८१

सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिकसत्र-२०८१ का विद्यार्थी भर्ना अभियान आजदेखि देशभर सुरु भएको छ।

अभियानको पहिलो दिन आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका शिक्षा तथा मानवस्रोत विकास केन्द्रले अभियान सफल बनाउन स्थानीय तह र सम्बन्धित निकायलाई आग्रह गरेको छ।

Public Patra Insert into Post

शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भर्चुअल माध्यमबाट अन्तरक्रिया गरी केन्द्रले सबै स्थानीय तहका शिक्षा प्रमुख, इकाइ प्रमुख, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घलाई आग्रह गरेको हो।

मन्त्री श्रेष्ठले शिक्षा पाउने नागरिकको संवैधानिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएकाले सबैले सहयोग गर्न आग्रह गरे।

अभियानकै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न आग्रह गरेका छन्।

केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि तीनै तहका सम्बन्धित निकायमा पठाएको छ।

केन्द्रका महानिर्देशक दीपक शर्माले  विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरी विद्यार्थी भर्नाको शुभारम्भ गरिने जानकारी दिए।

यसैगरी यही वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, सूचना र आह्वान, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहणका लागि आह्वान गर्ने कार्यक्रम छ।

अभियानअन्तर्गत यही वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गराइनेछ। वैशाख १० गतेसम्म भर्ना भएका विद्यार्थीलाई सोही दिन पोसाक र छात्रवृत्ति वितरण गरिनेछ।

वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय इकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालयमा पठाइने छ।

अधिकांश निजी लगानीका विद्यालयले वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया सुरु गरिसकेका छन्।

केन्द्रको ‘फ्ल्यास रिपोर्ट, २०७९’ अनुसार हाल पूर्व प्राथमिक तहको कूल भर्नादर ९४ दशमलव ९ प्रतिशत पुगेको छ।

७७ वटै जिल्लामा पुगे पाठ्यपुस्तक
नयाँ शैक्षिकसत्र सुरू हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र- २०८१ का लागि सबै विषयका पुस्तक छापेर पुर्याइएको बताएका छन् ।

केन्द्रले प्रकाशन गरेको कार्यतालिकाअनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यही चैत १३ देखि २८ गतेसम्म पाठ्यपुस्तक बिक्री भएका छन् । केन्द्रले चालु शैक्षिकसत्रमा पनि समयमा नै किताब पुर्याएको थियो ।

प्रबन्ध सञ्चालक झाका अनुसार आउँदो शैक्षिकसत्रका लागि जिम्मेवारी दिइएको कक्षा ५ देखि १२ सम्मका एक करोड ७५ लाख थान किताब छापेर फागुनदेखि नै बिक्री सुरु गरेको थियो । केन्द्रले २४ सैं घण्टा पुस्तक छापेको थियो । ‘हामीले भरमग्दुर प्रयास गरेर समयमा जिल्ला जिल्लामा पाठ्यपुस्तक पुर्याउने जिम्मेवारी पूरा गरेका छौं । अब बिक्रेतामार्फत् विद्यार्थीका हातहातमा पुस्तक पुग्नेछन्’, उत्साहित हुँदै प्रबन्ध सञ्चालक झाले भने,’राज्यको भर्ना अभियान आरम्भ हुँदा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेनन् भन्ने गुनासो सम्भवतः अब सुन्नुपर्दैन । कुनै कारणवश कहीं नपुगेको जानकारीमा आए तत्काल सम्बन्धित प्रदेश कार्यालयबाट आवश्यक व्यवस्था गरिनेछ ।’

कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी निजी क्षेत्रले पाएको छ भने यस वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक तहमा एकीकृत पाठ्यक्रममा आधारित भएर सूचीकृत (अनुमतिप्राप्त) प्रकाशनका पाठ्य सामग्री प्रयोग गर्न निर्देशन दिएको छ ।

केन्द्रले आगामी शैक्षिकसत्रका लागि कक्षा ३ देखि १२ सम्मका पाठ्यपुस्तकको मूल्यसूची र हरेक प्रदेशका लागि सूचीकृत बिक्रेताको मूल्यसूची पनि सार्वजनिक गरेको छ ।

शैक्षिकसत्रअगावै बजारमा पुस्तक उपलब्ध गराउन गत वर्षदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बन्धित निकायलाई अभिप्रेरित गराउँदै आएका छन् भने यस वर्ष शिक्षामन्त्री सुमना श्रेष्ठले यही चैत १ गते केन्द्रको भक्तपुरस्थित कार्यालय र प्रेस निरीक्षण गरी समयमा पुस्तक उपलब्ध गराउन निर्देशन दिएकी थिइन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2